२ कार्तिक, सुर्खेत ।
मुरमुरी युवा क्लब पञ्चपुरी ५ सुर्खेतको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि राजी समाज पञ्चपुरी ९ ले जितेको छ । असोज २८ गतेदेखि पञ्चपुरीको मुरमुरीमा सञ्चालन भएको प्रतियोगितामा १८ वटा टिमले भाग लिएका थिए । आज भएको फाइनल प्रतियोगितामा १–३ गोल गर्दै राजी समाज प्रथम भएको हो । आयोजक मुरमुरी युवा क्लब उपविजेता बन्दै दोस्रो भएको छ । त्यसैगरी प्रतियोगितामा पञ्चपुरी वडा नम्बर ६ को समूह तेस्रो भएको छ ।
प्रतियोगिताको समापन गर्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीले खेल शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिँदै सहयोग गर्ने सम्पूर्ण निकायलाई आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले खेलकुद विकासको लागि वडा कार्यालयले निरन्तर कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै लैजाने समेत बताउनुभएको छ ।
प्रतियोगिता विजेताहरूलाई पुरस्कार मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ । समापन कार्यक्रम क्लबका अध्यक्ष टेकबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको हो ।













