१४ असोज, सुर्खेत ।
शिवधाम धार्मिक संस्था पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको १३ औं वार्षिक साधारण सभा आज बाबियाचौरमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०, ८१ को प्रगति प्रतिवेदन अनुमोदन गरेको छ । शिवधाम धार्मिक संस्थाका सञ्चालन समितिका सचिव पदमलाल कँडेलले आगामी आर्थिक वर्षमा धार्मिक यज्ञ सञ्चालन गर्ने, मन्दिर क्षेत्रभित्र निर्माण भएका मूर्ति तथा संरचनाको प्रण प्रतिष्ठा गर्ने, शिवधाम गुरुकुल विद्यालयको दिगो सञ्चालनका लागि अक्षयको स्थापना गर्ने, मन्दिरभित्र निर्माण भएका संरचनालाई व्यवस्थित गर्न पहल गर्ने बताएका छन् ।
साधारणसभामा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीले पञ्चपुरीकै धार्मिक महत्वको र पर्यटनको क्षेत्रमा सम्भावना बोकेको शिवधाम धार्मिक क्षेत्रलाई सबैले विकास गर्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाँले यस अघि पनि यस क्षेत्रको विकासका लागि आफूले निरन्तर प्रयास गरेको र आगामी दिनमा पनि यसको प्रगतिका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साधारण सभा शिवधाम धार्मिक संस्थाका अध्यक्ष नवलसिं देउवाको अध्यक्षतामा सम्पन्न भएको हो ।