गगन खडका, सुर्खेत ।
स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुर्खेतको चौकुने गाउपालिकामा सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत तालिम असोज ११ गते देखि १३ गतेसम्म सञ्चालन गरिएको हो ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको हो । तालिमका सहभागीहरुले सिकाई सँगै गाउँपालिकाको विपद् व्यवस्थापनका लागि कार्य योजना समेत तयार पारेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिकाका अध्यक्ष खड्क वि क ले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामाग्रीको पनि तय गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । तालिम कार्यक्रमबाट चौकुने गाउपालिकाले आफ्नो क्षेत्र भित्र विपद् बाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जनजीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसाथ गर्दै तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणा पत्र समेत जारी गरेको छ ।
कार्यक्रम माथि प्रकाश पार्दै भकारी परियोजना संयोजक जनक नारायण आचार्यले स्थानीय तहको सहयोग बाट नै जोखिम न्यूनीकरण गर्न सकिने र कार्यक्रम पनि सफल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना बराहताल गाउँपालिकाका २ ,४, ५, ६ र ८ गरी ५ वटा वडाका २३ वटा समुदाय, चौकुने गाउँपालिकाका ५ वडाका १२ समुदाय र पञ्चपुरी नगपालिकाका ४ वटा वडाका १२ समुदाय गरी ३ वटा पालिकाका १४ वटा वडामा ४७ समुदायलाई समेटेर परियोजना लागू भएको हो । परियोजनाले कृषि, प्राकृतिक विपद् न्युनिकरण, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आकस्मिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयका अधिकृत तुलसी प्रसाद आर्चाय र दिनेश प्रकाश बरालले सहजीकरण गर्नुभएको कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायत सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य गाउँपालिका मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, रेडक्रस सोसाइटीका प्रतिनिधि, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।