२८ भदौ, सर्खेत ।
“बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० आंै राष्ट्रिय बाल दिवसको अवसर पारी आज वक्तृत्वकला आयोजना गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५ मा रहेको विद्याज्योति माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । पञ्चपुरी नगरपालिकाको कार्यालय बाबियाचौर, कारितास नेपाल, आवाज संस्था सुर्खेत, पञ्चपुरी टेन्ट हाउस लगायतको सहयोग, रेडियो डाँडादरा एफएम र शुभ सन्देश डटकमको समन्वयमा भएको कार्यक्रममा १५ जना प्रतियोगीहरूको सहभागिता रहेको थियो ।


प्रतियोगितामा बोल्दै समाजिक विकास शाखा पञ्चपुरीका संयोजक तथा पञ्चपुरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष यामबहादुर बिसीले बालबालिकाले स्थानीय सरकारलाई राम्रो सुझाव दिएको र आगामी दिनमा बालबालिकाको सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले बालबालिकाको विकासका लागि नगरपालिकाले यस अघिदेखि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभएको छ । विपन्न परिवारका बालबालिकाहरुलाई नगरपालिकाले छात्रवृत्तिका कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनुभएको छ ।

बालबालिकाको सर्वाङ्गीण विकासमा स्थानीय तहको भूमिका विषयमा भएको वक्तृत्वकलामा विद्याज्योति माध्यमिक विद्यालय बाबिया चौरका छात्रा तारा बिक प्रथम, बाबियाचौर बोर्डिङ स्कुलका छात्र मिसन अधिकारी दोस्रो, जनजागृत माध्यमिक विद्यालय दुलालथाईका प्रदिप कँडेल तेस्रो भएका छन् भने जनज्योति माध्यमिक विद्यालय जामुका हेमन्त ढकाल सान्त्वना भएका छन् । कार्यक्रमको स्वागत मन्तब्य प्रधानाध्यापक द्रोणराज पाठकले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।














