१७ भदौ, सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं २ सुर्खेतको आयोजनामा वडास्तरीय तीजगीत तथा नृत्य प्रतियोगिता आज पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ पलैटेमा भएको तीजगीत तथा नृत्य प्रतियोगितामा वडा भित्रका ६ वटा आमा समूहको सहभागिता रहेको थियो ।
महिला हिंसा न्यूनीकरण तथा प्राकृतिक सम्पदा संरक्षण विषयमा तीज गीत तथा नृत्य प्रतियोगिता गरिएको हो । तीजगीत प्रतियोगितामा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले संस्कृति संरक्षणका लागि आफ्नो भेषभुषा कला संस्कृतिलाई बिर्सन नहुने बताउनुभएको छ ।


पछिल्लो चरणमा लोपहुदै गएका पुराना तीजका गीतहरूलाई संरक्षण गर्न वडा कार्यालयले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । साथै उहाँले तीजलाई आफ्नो क्षमता अनुसार मनाउन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

तीजगीत प्रतियोगितामा हिमाल स्वास्थ्य आमा समूह प्रथम, नमुना स्वास्थ्य आमा समूह र वरपिपल स्वास्थ्य आमा समूह दोस्रो र सयपत्री स्वास्थ्य आमा समूह तेस्रो भएका छन । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पञ्चपुरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष यमबहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

