दिपेन्द्र शर्मा जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ४ लहँले तीजको अवसरमा वडाबासी महिला दिदीबहिनीलाई सम्मानित र पुरस्कृत गरेको छ । खालचौरस्थीति वडा कार्यालयको प्राङगनमा गरिएको तीज विशेष कार्यक्रममा उनीहरुलाई पुरस्कृत र सम्मानति गरिएको हो ।
वडाध्यक्ष बद्री पन्तले महिला दिदीवहिनीको सीप र कलाको उच्च कदर गर्दैै सम्मान र पुरस्कार दिएको बताए । कार्यक्रममा वडाका ७ वटा आमा समुह र केही अरु कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन् । मिलिजुली आमा समूह भेरीखर्क, शितल आमा समूह मानचौर, फुलबारी आमा समुह बाउसेखोला, एकता आमा समूह काम्ली, माझगाउँ आमा समूह, स्वयंसेविका आमा समूह थाप्ला र सिमाऔल बहुउद्देश्यीय आमा समुहले तीज विशेष कार्यक्रममा भाग लिएका थिए ।
बिपना महर, भावना ओली, रेखा थापा, माया रावल, दिलमाया वली र निरमाया ओली एकल नृत्य प्रस्तुत गरेका थिए । यस्तै निर्मला ओलीले गित गाएर दर्शकलाई रमाइलो दिएकी थिइन् । ओलीले गितबाट तीजको मौलिकता हराउदै गएको भन्दै मौलिकता जोगाई राख्नु पर्नेमा जोड दिएकी थिइन् । तीज विशेष कार्यक्रममा भाग लिएका ७ वटै आमा समूहलाई २÷२ हजार रुपैयाको दरले पुरस्कारसहित सम्मान गरिएको वडासचिव सुरेन्द्र रावलले बताए । एकल नृत्य टिमलाई पनि नगद, प्रमाणपत्र र खाँदा सहित सम्मान गरिएको उनले बताए । कार्यक्रममा वडाध्यक्ष बद्री पन्तले वडामा रहेका सबै आमा समुहलाई एकै ठाउँमा जमघट भएर रमाइलो गर्न र खुशी साटासाटको लागि तीज विशेष कार्यक्रम गरेको बताए । एउटै गाउँमा भएपनि कतिपय दिदीवहिनीहरुवीच बर्षदिनसम्म पनि भेटघाट हुदैन्, उनले भने, त्यसैले यो उहाँहरुवजीच भेटघाट होस भनेर पनि राखिएको कार्यक्रम हो ।
कार्यक्रममा सहभागीता जनाउने सबै महिला दिदीवहिनीलाई आभार व्यक्त गदै वडाध्यक्ष पन्तले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । समृद्ध र समुन्नत समाज रुपान्तरणमा हाम्रो प्रतिवद्वता भन्ने मुल नारासहित गरिएको कार्यक्रमा सहभागी आमा समुह र महिलाहरुले आफुहरुको पर्वलाई विशेष ध्यान दिएकोमा खुशी हुँदै वडासरकारप्रति आभार व्यक्त गरेका छन् । वडा सरकारको आयोजनामा लहँमै पहिलो पटक तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।