१२ भदौ, सुर्खेत ।
पञ्चपुरी नगरपालिका सुर्खेतको आर्थिक वर्ष ८०÷८१ को पालिका स्तरिय वार्षिक समीक्षा गोष्ठी आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरूको सहभागितामा दुई दिने समीक्षा गोष्ठी सञ्चालन गरिएको हो । गोष्ठीमा स्वास्थ्य संस्थाहरूले गरेको वार्षिक प्रगति समीक्षा, स्वास्थ्य संस्थामा भएका समस्याहरू र आगामी दिनमा गर्नुपर्ने योजनाको बारेमा समेत छलफल गरिएको छ । गोष्ठीमा सहभागी कर्मचारीहरूले स्वास्थ्य संस्थामा सामग्रीहरूको अभाव रहेको हुँदा सम्बन्धित निकायलाइ व्यवस्थापन गरिदिनको लागि अनुरोध समेत गरेका छन् । साथै उनीहरूले पञ्चपुरी नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई जिल्लाकै उत्कृष्ट बनाउनको लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्याक्रममा पञ्चपुरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चुडामणी कडेलले कर्मचारीहरुको सक्रियताले नै स्वास्थ्य क्षेत्र सवल हुने हुदा नतिजामुखी काम गर्न सबैलाइ आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन तथा समापनमा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले स्वास्थ्य क्षेत्रलाई सबल र भरपर्दो बनाउनको लागि सबैले तथ्याङ्कलाई विशेष ध्यान दिन पर्नेमा जोडदिनुभएको छ । स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू र आवश्यक पर्ने औषधिहरूको लागि नगरपालिकाबाट सहयोग हुने र स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन कर्मचारी सक्रिय हुन आवश्यक रहेको समेत औंल्याउनुभएको छ । त्यसैगरी कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले नागरिकको पहिलो आवश्यकता भनेको स्वास्थ्य र शिक्षा भएको हुँदा स्वास्थ्यलाई सबैले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । साथै भण्डारीले पञ्चपुरीको समृद्धिका लागि सबै क्षेत्र सबल र सक्षम हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख तथा पञ्चपुरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष याम बहादुर बिसीले समुदायमा राम्रो काम गर्दागर्दै पनि जिम्मेवार निकायले कुरा सुन्नुपर्ने परिपाटी भएको हुँदा त्यस्ता समस्याहरूलाई आगामी दिनमा नआउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्वास्थ्यकर्मीले राम्रो काम गरेपछि नगरपालिकाको उपलब्धि देखिने भएको हुँदा सुझावहरूलाई आत्मसाथ गर्दै अगाडि बढ्न समेत अध्यक्ष बिसीले आग्रह गर्नुभएको छ । कार्यक्रममा सामुदायिक स्वास्थ्य इकाई तर्फ पञ्चपुरी ७ पैसरा र स्वास्थ्यचौकी तर्फ विद्यापुर स्वास्थ्य चौकीलाई उत्कृष्ट छनोट गरेर सम्मान समेत गरिएको छ ।