३० साउन सुर्खेत ।
आफ्नो टोलमा विकास हुनुपर्ने भन्दै पञ्चपुरीका स्थानीय नागरिक हरू आन्दोलित भएका छन । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ रागका नागरिकहरू आफ्नो टोलमा खानेपानी, स्वास्थ्य, संचार, शिक्षा लगायतका क्षेत्रमा विकास गर्न माग गर्दै नगरपालिका कार्यालय बाबियाचौर पुगेका छन । नगरपालिकाको कार्यालय पुगेका स्थानीय नागरिकहरूले सञ्चारका लागि तत्काल टेलिफोन टावरको स्थापना गर्नुपर्ने, रागमा भएको कच्ची सडकहरू तत्कालका लागि ग्राभल गर्नुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने लगायतका विभिन्न माग राखेर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै पञ्चपुरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिलबहादुर कार्कीले विद्युतीकरणका लागि प्रक्रिया सुरु भएको, त्यसैगरी बाटो ग्रावेलको लागि बजेट विनियोजन गरिएको र सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि नेपाल टेलिकम दूरसञ्चार कार्यालयलाई अनुरोध गर्ने समेत बताउनुभएको छ ।

साथै उहाँले जनताका मागहरु जायज भएको र यी मागहरू पूरा गर्नको लागि नगर कार्यपालिकाको बैठक बसेर आवश्यक सम्बोधन गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ । नगरपालिका पुगेका स्थानीय नागरिकहरू आफ्ना माग सम्बोधन हुने कुरामा विश्वस्त भएको समेत जनाएका छन ।
