२७ साउन सुर्खेत ।
नेपाल नेत्रहीन सङ्घको आयोजना तथा डेनिस एसोसिएसन अफ द ब्लाइन्डको सहकार्यमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकामा पालिका स्तरीय सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको हो। नगरपालिकामा रहेका विभिन्न सरोकारवालाहरू सँगको छलफलमा संघले आगामी चार वर्षभित्र गर्ने कामहरूको बारेमा जानकारी दिइएको छ। नेपाल नेत्रहिन सङ्घका तर्फबाट ऋतु चन्दले नगरपालिका मा दृष्टिविहीन भएका व्यक्तिहरूका लागि आयआर्जन क्षमता विकास लगायत तालिम तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिने र चार वर्षका अवधिमा गरिने कार्यक्रमको बारेमा समेत जानकारी दिनुभएको छ। साथै उहाँले नगरपालिकामा रहेका दृष्टिविहीनहरूको लागि संस्थाबाट आवश्यक सहयोग हुने बताउँदै यसमा नगरपालिकाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि नगरपालिकाले काम गरिरहेको र दृष्टिविहीनहरूका लागि पनि सहकार्य गरेर काम गर्न सकिने प्रतिबद्धता जनाउनुभएको छ। नगरपालिकाले दृष्टिविहीन तथा आँखासम्बन्धी समस्या भएकाहरूका लागि प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको बताउँदै भण्डारीले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ ।













