२१ साउन, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा सार्वजनिक विदा हुने भएको छ । २०८२ साल असार २९ गतेको १७ औं नगरसभाको निर्णयअनुसार साउन २३ गते शुक्रबारका दिन नगरपालिकाले सार्वजनिक बिदा दिन लागेको हो । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ मा रहेको पञ्चपुरी कागेश्वरी माईको मन्दिरमा धार्मिक मेला लाग्ने भएको हुँदा नगरपालिकाले एक दिन स्थानीय विदा दिने भएको छ । पञ्चपुरी नगरपालिकाको नामाकरण सोही मन्दिरको नामबाट गरिएको र उक्त मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने भएको हुँदा बिदा दिएको नगरपालिकाले जनाएको छ । साउन २३ गते नगरपालिकाभित्र रहेका नगर मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरूमा एक दिन सार्वजनिक बिदा दिइएको हो । प्रत्येक वर्ष कागेश्वरी माईको मन्दिर दर्शन गर्नका लागि कैलाली अछाम दैलेख सुर्खेत लगायतका विभिन्न स्थानबाट हजारौं दर्शनार्थीको भिड लाग्ने गरेको छ ।













