सुर्खेतमा यहि श्रावण ११ गते देखि स्थानिय तहका सबै स्वास्थ्य संस्थामा कोरोना विरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । सुर्खेत जिल्ला कोभिड खोप अनुगमन तथा समन्वय समितीको श्रावण ९ गतेको निर्णयानुसार आगामी श्रावण ११ गतेका दिन ५५ वर्ष उमेर पुगेका हाल सम्म एक मात्रा पनि खोप नलगाएका सबैलाइ खोप लगाइनेछ भने श्रावण १२ गते विश्वविधालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू र सार्वजनिक यातायातका चालक र सहचालकहरूलाइ खोप लगाइने भएको छ ।
५५ वर्ष माथिका व्यक्तिले खोप केन्द्रमा जादा नागरिकता वा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ भने शिक्षक र विधालयका कर्मचारीहरूलाइ संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप दिइने छ । साथै सार्वजनिक यातायातका चालक र सहचालकहरूले यातायात व्यसायी संघको सुचि जिल्ला प्रसाशन कार्यालयबाट प्रमाणित गराइ परिचयपत्रको आधारमा खोप उपलब्ध हुने छ ।
खोप उपलब्धताको आधारमा सरकारले उमेर समुह घटाउदै खोप सेवा दिने र यो भेरोसेल अभियान सकिए लगत्तै एक मात्रा मात्र लगाए पुग्ने अमेरिकी जेनसेन खोप ५० देखि ५४ वर्ष उमेर समुहका सबै व्यक्ति, खोप अनिवार्य गरिएको देशमा जाने नेपाली नागरिक, क र ख वर्गका अपांगता भएका व्यक्ति स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाइ खोप दिने योजना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप अधिकृत जितलाल ढकालले बताए ।
हालसम्म सुर्खेत जिल्लामा ३३ हजार ४ सय ४९ जनाले कोरोनाको पहिलो मात्रा र १४ हजार २ सय ७९ जनाले दोस्रोमात्रा खोप लगाएका छन् भने यसै हप्ता २८७१२ जनालाइ भेरोसेल र सो अभियान पछि लगत्तै २३००० जनालाइ जेनसेन खोप लगाउने योजना रहेको छ ।
अझै पनि १८ हजार ७ सय ७ जना कोभिसिल्डको दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका जेष्ठनागरिकहरूलाइ भने जापान सरकारको अनुदानमा आउने सुनिश्चित भैसकेको खोप उपलब्ध हुनासाथ लगाइने अधिकृत ढकालले बताए ।
कोरोनाको लक्षण भएका र सिकिस्त विरामी र कोरोना संक्रमण भइ निको भएको तिस दिन ननाघेकाहरूले भने यो खोप नलगाउन सुझाव दिइएको छ । खोप केन्द्रमा जादा मास्क लगाउन र भौतिक दुरि कायम गरि आफ्नो पालो अनुसार खोप लगाउन अनुरोध गरिएको छ । खोप केन्द्रको सम्पुर्णको व्यवस्थापन स्थानीय तहहरू वाट हुने ढकालले बताए ।