चिसापानी-मंगलसेन सडक कालोपत्रे हुँदै,

935 पटक हेरिएको

 कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माण कार्य थालेको ५१ वर्षपछि कालोपत्रे हुनभएको छ । यो सडक २०२८ सालबाट निर्माण सुरु भएको थियो ।

अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुगाएका थिए । उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको थियो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा भने सोही सडकखण्डको ५३ किलोमिटर पीच (कालोपत्रे) का लागि ठेक्काको तयारी थालिएको छ । कैलालीमा १०, सुर्खेतमा १८ र अछाम खण्डमा २५ किलोमिटर गरी ५३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिने भएको हो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर हरि शर्मा धितालका अनुसार कुँनेदेखि १८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का हुँदैछ । अन्य भौतिक संरचना निर्माणका लागि दुई खण्डमा काम जारी छ । ‘सुर्खेत खण्डमा कुइँने–जामु–बाबियाचौर–भक्तडी–जंगलघाट सडक हो । कर्णाली प्रदेश सरकारले ४४ करोड रकम विनियोजन गरेको छ,’ उनले भने, ‘१८ किलोमिटर कालोपत्रे हुनेगरि बाबिँयाचौरको भ्यागुतेखोलासम्म पिचका लागि टेण्डर भएको छ । तीन किलोमिटर नाला निर्माण र स्टक्चरको काम हुँदैछ ।’

कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्ष अगाडि २ करोड बजेट छुट्याएर ९ किलोमिटर बाटोको ट्रयाक खोलिएको थियो । गाउँपालिकाले ७/८ लाख रकम विनियोजन गर्दै बाँकी क्षेत्रको ट्रयाक खोलेको थियो । ‘जलजला कन्ट्रक्सनले कटिङको काम मात्र गर्दैछ । अनथ–जयवेदी–सन्राइज भन्नेले चार किलोमिटर नाला बनेको र तीन किलोमिटरमा नाला बन्न बाँकी छ,’ धितालले भने ।

कुइँने–बाबियाचौर–जंगलघाट कालोपत्रे सडकका लागि कर्णाली प्रदेश सरकारले ४४ करोड विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडकको १८ किलोमिटर कालोपत्रेका लागि चालु आर्थिक वर्षमा ठेक्का गर्दैछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार तथा संघीय सरकारले एक अर्ब ४४ करोड रकम विनियोजन गरेपछि यो सडक कालोपत्रे सुरु हुने भएको छ । कैलालीमा १० किलोमिटर सडक कालोपत्रेका लागि ३ करोड, सुर्खेतमा १८ किलोमिटर सडक कालोपत्रेका लागि ४४ करोड र अछाममा २५ किलोमिटर सडक कालोपत्रेका लागि ९७ करोड विनियोजन गरिएको छ । यो सडकले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई सडक सञ्जालसँग जोड्नेछ ।

कैलाली खण्डमा सडक कालोपत्रेका लागि संघीय सरकारले तीन करोड विनियोजन गरेको छ । प्रतिनिधि सभा सदस्यहरुको एक निर्वाचन क्षेत्र एक सडक पूर्वाधारबाट उक्त रकम विनियोजन भएको हो ।

कैलालीमा सडक डिभिजन कार्यालय, कञ्चनपुरमार्फत कालोपत्रेका लागि प्रक्रिया थालिएको छ । कैलालीको चिसापानीदेखि सुर्खेतको कुइँनेसम्म झण्डै २९ किलोमिटर सडक छ । चिसापानी बजार क्षेत्रको झण्डै २ किलोमिटर कालोपत्रे भएकोमा कुइँनेसम्मको बाँकी १० किलोमिटर सडक निर्माणका लागि ठेक्का हुने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनियर हरि सुवेदीले बताए । उनले भने– ‘नयाँ ठेक्का हुँदैछ । यो आर्थिक वर्षबाट काम सुरु हुन्छ ।’

चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्डमा एक सय १० किलोमिटर सडक छ । ९७ करोड समपुरक योजनाबाट सडक निर्माणका लागि विनियोजन गरिएको छ । संघ र सुदूरपश्चिम सरकारको ५०/५० प्रतिशतको लगानीमा २५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्काको तयारी थालिएको छ । गैरीटारदेखि बाँचकाँडासम्म २५ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता चालु आर्थिक वर्षमा हुन सडक डिभिजन कार्यालय अछामका प्रमुख रुद्र बोगटीले बताए ।

चिसापानी–जंगलघाट–मंगलसेन सडकले सुदूरपश्चिमका कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्छ। कुइनेको कर्णाली नदीमा पक्की पुल निर्माण पूरा भएको छ भने जंगलघाटको कर्णाली नदीमा पुल निर्माणको ठेक्का भएको छ । rajdhanidainik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...