प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसमा नेपाली कांग्रेस पञ्चपुरीले पञ्चपुरी वडा नं ६ र ८ को सिमानाको औधोगिक क्षेत्रमा बृक्षारोपण गरेको छ । बृक्षाराेपण कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख उपप्रमुख सहित जिल्ला, क्षेत्रीय, प्रदेश, नगर तथा वडा स्तरका नेता तथा कार्यकर्ताकाे सहभागीता रहेकाे थियोे ।

कोइराला २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गर्नुभयो । उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।

२०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

कोइराला, कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विस २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।




