२७ असार, सुर्खेत ।
सुर्खेतको चौकुने गाउँपालिकामा दिगो मत्स्य व्यवस्थापनतर्फ जलीय पारिस्थितिक प्रणालीमा सुधार परियोजना सुरु हुने भएको छ । गत जेठ १४ गतेदेखि कार्तिक १५ गतेसम्मको अवधिमा लागु हुने परियोजनाले जैविक विविधता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
चौकुने गाउँपालिकामा भएको जनप्रतिनिधि कर्मचारी सरोकारवाला निकाय र आम नागरिकको सहभागितामा परियोजनाको लक्ष्य उद्देश्य र आगामी दिनमा गरिने क्रियाकलापको बारेमा समेत जानकारी दिइएको छ । परियोजना सुर्खेतको चौकुने गाउँपालिका छिमेकी नगरपालिकाहरू कैलालीको मोहन्याल डोटीको बोक्टान अछामको तुर्माखाद र ढकारीमा सञ्चालन हुने भएको छ । कर्णाली लिएर भेरी नदीको जैविक विविधताको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको छ ।
त्यसैगरी परियोजनाले गाउँपालिकालाई जलचर एवं जलीय जैविक विविधता संरक्षण सम्बन्धी ऐन कानुन निर्माण गर्ने चौकुने र ढकारी गाउँपालिकालाई वातावरण संरक्षण ऐन र जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन बनाउन सहयोग गर्ने भएको छ । परियोजना अवधिभर विभिन्न समूहहरू दर्ता गरी काम गर्ने सामुदायिक जलचर संरक्षण समूहका बीचमा पारस्परिक अनुभव आदानप्रदान गर्ने माछा र अन्य प्रमुख जलचरको पहिचान गर्ने र सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गरिने भएको छ । जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले परियोजना सञ्चालन गर्न लागेको हो । परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्ताेलाले जैविक विविधता संरक्षणका लागि स्थानीय तह सकारात्मक भएको र कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यक्रमको सहजीकरण प्राे पब्लिकका महासचिव प्रकाश कुमार दाहाल, वरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाही, कार्यकारी अधिकृत बिनोद कुमार पौडेल, माछा विज्ञ राजकपुर नापित लगायतले सहजीकरण गर्नुभएको थियो ।
