भारतीय वायुसेनाको जगुआर ट्रेनर विमान बुधबार राजस्थानको चुरु जिल्लामा दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान उड्दाउड्दै जमिनमा खसेको हो । वायुसेनाले जारी गरेको विज्ञप्ति नुसार, दुर्घटनामा विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ। यसबाहेक अन्य कुनै नागरिक वा सम्पत्तिलाई क्षति नभएको भारतीय वायुसेनाले जनाएको छ। वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरेको छ।

प्रारम्भिक जानकारी अनुसार, विमान नियमित प्रशिक्षण मिसनमा थियो र प्राविधिक कारणले दुर्घटना भएको हुन सक्छ तर वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।
सेना स्रोतका अनुसार, यो जगुआर लडाकु जेट श्री गंगानगर नजिकैको सुरतगढ एयरबेसबाट उडेको थियो। जगुआर विमान कम उचाइबाट आक्रमण गर्ने लडाकु जेट हो। यो एक ब्रिटिस-फ्रान्सेली सुपरसोनिक जेट आक्रमण विमान हो, जुन जमिन आक्रमण र जहाजविरोधी मिसनका लागि प्रयोग गरिन्छ।











