१९ असार, सुर्खेत
“किशोरकिशोरी मैत्री स्थानीय सरकार सुनिश्चित भविष्यको सुरुवात” भन्ने उद्देश्य सहित प्रथम नगरस्तरीय किशोरकिशोरी सम्मेलन २०८१ आज सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । युएसए आइडी, एआरएच परियोजनाको सहयोग तथा आयोजनामा भएको कार्यक्रममा पञ्चपुरी नगरपालिका भित्र रहेका सम्पूर्ण वडाका किशोर किशोरीहरूको सहभागिता रहेको थियो । किशोर किशोरीको क्षेत्रमा भए गरेका काम र आगामी दिनमा गर्नुपर्ने योजनालाई जानकारी दिनको लागि सम्मेलनको आयोजना गरिएको हो ।
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको सम्मेलनमा वडाका जनप्रतिनिधिहरू, विषयगत शाखाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले किशोर किशोरीहरूका लागि बजेट व्यवस्थापन गरिदिनको लागि नगरप्रमुखको ध्यानाकर्षण समेत गराएका छन् । साथै उनीहरूले विद्यालयमा किशोरीहरूका लागि सेनेटरी प्याडको अभाव भएको हुँदा आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
त्यसैगरी कार्यक्रमका सहभागीहरुले समुदायमा बढ्दै गरेको बालविवाह, घरेलु हिंसा लगायत जघन्य अपराधहरुलाई न्यूनीकरण गर्नका लागि नगरपालिका र वडाले कार्यक्रम बनाएर काम गर्नुपर्नेमा सुझाव समेत दिएका छन् । कार्यक्रममा सहभागीहरूको जवाफ दिने क्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा किशोरीमैत्री कार्यक्रम समेटेको समेत बताउनुभएको छ ।
साथै उहाँले अबको आर्थिक वर्षमा प्रत्येक विद्यालयहरूमा मनोपरामर्शका कार्यक्रम। प्राथमिक उपचारको व्यवस्थापन लगायत किशोर किशोरीहरूको गुनासो सुनुवाई कार्यक्रम सञ्चालन गर्ने समेत बताउनुभएको छ । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले आगामी वर्षमा नगरपालिकाले किशोरकिशोरी सम्मेलनलाई थप व्यवस्थित गरेर भव्यताका साथ सञ्चालन गर्ने समेत बताउनुभएको छ । कार्यक्रममा किशोर किशोरीहरूले विभिन्न प्रतिभाहरू समेत प्रस्तुत गरेका थिए । सम्मेलन पञ्चपुरी नगरस्तरीय युवा सञ्जालका अध्यक्ष रमेश ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो ।