१९ असार, सुर्खेत
स्वास्थ्य स्वयंसेविकाहरूलाई सञ्चारमा पहुँच पु¥याउनको लागि आज मोबाइल वितरण गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ५ सुर्खेतले आफ्नो वडा भित्रका ७ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल वितरण गरेको हो । समुदायमा स्वास्थ्यको क्षेत्रमा स्वयंसेवा गर्दै आएका स्वयंसेविकाहरूलाई खबर आदानप्रदान गर्न र रिपोर्टिङ गर्नको लागि सजिलो होस् भन्ने उद्देश्यका साथ मोबाइल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
मोबाइल वितरण कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नगेन्द्र बहादुर शाहीले स्वयंसेविकाले समुदायमा गरेको काम प्रशंसायोग्य रहेको र आगामी दिनमा पनि स्वयंसेविकाको मनोबल उच्च राख्नको लागि थप सहयोगका कार्यक्रम गर्ने बताउनुभएको छ । साथै उहाँले मोबाइलबाट समुदायमा आमा समूहको बैठक लगायत विभिन्न सूचनाहरु प्रवाह गर्नको लागि थप सहज हुने आशा गरेको समेत बताउनुभएको छ ।
कार्यक्रममा मोबाइल बुझ्दै वडाका स्वयंसेविकाहरूले वडा कार्यालयले गरेको सहयोगले आफूहरुलाई थप काम गर्न हौसला मिलेको समेत बताएका छन् । साथै उनीहरूले वडाले गरेको सहयोगप्रति खुसी व्यक्त गरेका छन ।
