१८ असार सुर्खेत ।
विद्याज्योति माध्यामिक विद्यालय पञ्चपुरी ५ बाबियाचौर सुर्खेतले एसइइ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई आज सम्मान गरेको छ । विद्यालयले आज एक कार्यक्रमका बीच उत्तीर्ण विद्यार्थीहरुलाई दोसल्ला ओढाएर सम्मान तथा शुभकामना प्रदान गरेको छ । सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा सामुदायिक विद्यालयबाट ३३ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले उत्तीर्ण हुने सम्पूर्ण भाइबहिनीहरूलाई बधाई दिँदै आगामी दिनमा विद्यालयको नाम उच्च राख्नको लागि अन्यत्र ठाउँमा पनि लगनशील भएर पठनपाठन गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले आगामी दिनमा विद्यालयका एसइइ दिने विद्यार्थीहरुलाई थप मेहनत गर्न आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलले विद्यार्थीको मेहनतले गर्दा र शिक्षकको लगनशीलताले गर्दा विद्यालयले राम्रो नतिजा प्राप्त गरेको बताउनुभएको छ । साथै आगामी दिनमा थप राम्रो नतिजा ल्याउनको लागि विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक र विद्यार्थीको सक्रियता बढाउने समेत बताउनुभएको छ । कार्यक्रममा सम्मानित हुने विद्यार्थीहरूले विद्यालयले गरेको सम्मानले आगामी दिनमा थप मेहनत गरेर अध्ययन गर्न प्रेरणा मिलेको बताएका छन् ।
