१३ असार, सुर्खेत ।
पञ्चपुरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने पञ्चपुरी नगरपालिकाका नगर उपप्रमुख मुक्ति रेग्मी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो
नगर प्रमुख लालवीर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभित्रका ११ वटा वडाले पूर्ण खोप सुनिश्चितता सम्बन्धी मापदण्ड पूरा गरेपछि पञ्चपुरी नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गंगाराम सुनारले बालबालिकाको स्वास्थ्य सुरक्षा र उज्ज्वल भविष्यका लागि पूर्ण खोप अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । विशेष अतिथि मुक्ति रेग्मीले पूर्ण खोप सुनिश्चितता कायम राख्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।


अध्यक्षता गर्दै नगर प्रमुख लालवीर भण्डारीले पूर्ण खोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई यसलाई दिगो रूपमा कायम राख्ने जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य सेवा सुदृढीकरण तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पु¥याएका विभिन्न वडा तथा पालिकालाई सम्मान गरिएको थियो । साथै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेबिका, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिताले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।













