१२ असार, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा मालपोत कार्यालय स्थापना हुने भएको छ । आज बसेको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायको संयोजकत्वकाे बैठकले सुर्खेतको बाबियाचौरमा मालपोतको कार्यालय रहने निर्णय गरेको छ ।

बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रमुख, नापी कार्यालका प्रमुख सहित वीरेन्द्रनगरमा बसेको बैठकले मालपोत कार्यालयको कार्यक्षेत्र समेत निर्धारण गरेको छ । बैठकले चौकुने गाउँपालिकाको सम्पूर्ण वडा पञ्चपुरी नगरपालिकाको सम्पूर्ण वडा र बराहताल गाउँपालिकाको वडा नम्बर ६ लाई कार्य क्षेत्र समेटेको छ ।
बैठकमा सहभागी पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले लामो समयको निरन्तर पहलले सार्थकता पाएको बताउनुभएको छ। साथै उहाँले पश्चिम क्षेत्रमा मालपोत कार्यालय स्थापना हुनु सबैको लागि खुसीको कुरा भएको बताउनुभएको छ। मालपोत कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धीका सम्पूर्ण काम गर्न सदरमुकाम वीरेन्द्रनगर धाउनु नपर्ने भण्डारीले बताउनुभएको छ ।













