१० असार सुर्खेत ।
आवाज संस्था सुर्खेतको आयोजनामा युवा तथा महिला समूहका सदस्यहरूलाई विभिन्न सिपमूलक तालिम आजदेखि बाबियाचौरमा सुरु भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ देखि ११ सम्मका युवा समूह, महिला समूहका सदस्यहरूलाई तालिम दिइएको हो । तालिममा बाख्रा पालन, बदाम तथा तरकारी खेती, बङ्गुर, मौरी पालन, सिलाई कटाई समेत रहेका छन् । तालिममा पञ्चपुरी नगरपालिकामा आवाज संस्थाले सञ्चालन गरेका समूहका ६० जना महिला तथा युवाहरूको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले तालिममा सिप सिकिसकेपछि व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले शिप विकास तालिमपछि गरिरहेको व्यवसायलाई नगरपालिकाले पनि निरन्तर अनुगमन र सल्लाह परामर्श दिने बताउनुभएको छ । उद्घाटन कार्यक्रम महिला सञ्जाल संस्था पञ्चपुरीका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
