१० असार सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १५ औं अधिवेशनबाट नीति कार्यक्रम पारित गरेको हो । नगरसभाको बैठकमा नगर प्रमुख लालबीर भण्डारीले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेश गर्नु भएको थियो ।
नगर प्रमुख भण्डारीले युवाहरूलाई आत्मनिर्भर बनाउनको लागि निरन्तरता दिने बताउनुभएको छ । साथै उहाले पाका पुस्ताको स्याहार सुसारका लागि बुहारी कार्यक्रमको विशेष कोष स्थापना गर्ने बताउनुभएको छ ।

नगरपालिकाले एक घर एक करेसाबारी पकेट क्षेत्रमा व्यावसायिक तरकारी, भन्ने नाराका साथ वडा नम्बर २, ३, ४, ६, ८ र ९ लाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ ।
त्यसैगरी पञ्चपुरी नगरपालिकाको पर्यटन प्रवर्धनका लागि गुरु योजना निर्माण गरी कार्यक्रम गर्ने योजना समेत नगरपालिकाको रहेको छ ।

सूचनाको प्रविधिको क्षेत्रमा नगरपालिकालाई डिजिटल नगरपालिकाको रूपमा विकसित गर्नको लागि काम अघि बढेको र त्यसलाई निरन्तरता दिइने भएको छ । कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मीले आर्थिक वर्ष २०८१÷८२ का लागि ६२ करोड ६३ लाख ८ हजार ९७९ प्रस्तावित बजेट पेश गर्नुभएको छ ।

