कुईनेमा बन्दै गरेको पक्कि पुल छिटै सञ्चालनमा आउने,

सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ३३ करोड लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दुरीको सडक सञ्जालमा जोडिएको हो ।

साविकको सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारी र पारी सडक सञ्चालनमा रहेका छन् । 

कर्णालीमा पुल नभएका कारण दुई प्रदेशको यातायात सम्बन्ध जोडिन सकेको थिएन । कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले कर्णाली चिसापानी सडकबाट पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्नेछ । पुल निर्माणसँगै साविक सुदूरपश्चिमको अछाम, बाजुरा र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु, जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउनेछन् । 

कुइनेस्थित कर्णाली नदीमा पुल सञ्चालनपछि सुर्खेतको बाबियाचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिनेछ । कुइनेस्थित कर्णाली नदीमा अनत–लुम्बिनी जेभीले पुल निर्माणको जिम्मा पाएको थियो ।

पुलको सुर्खेततर्फको सबै काम सकिएको छ भने कैलालीतर्फको वालको काम बाँकी रहेको पुल सेक्टर कार्यालय दाङका योजना प्रमुख लीला भण्डारीले जानकारी दिनुभयो । 

‘सम्भवतः असार मसान्तदेखि सवारी आवागमनका लागि सञ्चालन गर्ने गृहकार्य भइरहेको छ,’ भण्डारी भन्नुहुन्छ, ‘पुलको अन्य सबै काम सकिएको छ, कैलालीतर्फको पर्खालको काम सकिने क्रममा रहेकाले सोहीअनुसार यातायात सञ्चालनमा जुटेका छौँ ।’ पुल निर्माणका लागि ०७२ सालमा ठेक्का सम्झौता भएको थियो । 

सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माण ढिलो शुरु भएको निर्माण कम्पनीले जनाएको छ । तर योजना प्रमुख भण्डारीका अनुसार नदीका कारण डिजाइन चीनमा बनाउँदा निर्माणमा केही ढिला भएको हो ।

‘कर्णाली नदीको चिसापानीमा बनेको पुल र कुइनेमा निर्माण गरिएको पुलको प्रकृति लगभग उस्तै हो,’ भण्डारी भन्नुहुन्छ ‘नदीको भू–वनावटका कारण कहिलेकाँही डिजाइन पुनः अध्ययन गर्नुपर्ने भएकाले पनि निर्माणमा केही ढिलाइ भएको हो । पुल निर्माणको काम लगभग सकिन लागेको छ ।’ 

२०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण शुरु गरिएको हो । चालू आर्थिक वर्षमै पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई अन्तिम रुप दिन काममा तीव्रता दिइएको भण्डारी बताउनुहुन्छ । 

चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । उता, सुर्खेततर्फ कुइनेदेखि बाबियाचौरसम्म १९ किलोमिटर सडकमा साना सवारीसाधन सञ्चालन भइरहेका छन् । सुर्खेतमा पर्ने भेरी नदीमा पक्की पुल निर्माण भएपछि अटोरिक्सालगायत साना सवारीसाधन बाबियाचौर हुँदै कुइनेसम्म जाने गरेका छन् ।

भेरी नदीमा निर्माण भएको पुल दुई वर्ष पहिलेदेखि नै सञ्चालनमा आएको थियो । पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै छोटो हुनेछ । पश्चिमका नागरिकलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्नुभन्दा छिटो कैलालीको चिसापानी हुनेछ । 

gorkhapatraonline.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...