तीन दिनदेखि लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै दैलेखको नदी छेउछाउका बस्तीहरूमा जोखिम बढेकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएकाे दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
कर्णाली नदीको बहाव बढेपछि किनारमा रहेका राकम कर्णाली, टुनी बजार, रामाघाट र तल्लो डुंगेश्वर बजार जोखिममा परेको हाे ।
जिल्ला प्रशासन कार्यालय दैलेखले कर्णालीलगायत अरू नदीमा समेत पानीको बहाव बढेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो । यसका लागि पालिकालाई तत्पर रहन भनिएकाे उहाँले जानकारी दिनुभयाे ।
बाढी र पहिरोबाट जनधनको क्षति कम गर्न पालिकाहरूले पनि पूर्वतयारी गरेको भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी बिष्टले जानकारी दिनुभयो । यस्तै विपद् आउँदा उद्धार र पुनर्स्थापनाका लागि तालिम प्राप्त जनशक्ति र प्रहरी टाेलीलाई तयारी अवस्थामा राखिएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढाले बताउनुभयो । ujyaalo