३१ जेठ सुर्खेत ।
खानेपानीको माग गर्दै सुर्खेतको चौकुने गाउँपालिका वडा नं ५ रेक्चाका स्थानीय नागरिकहरू गाग्री र डोको बोकेर गाउँपालिका पुगेका छन् । आफ्नो टोलमा खानेपानीको व्यवस्थापन गर्नको लागि बेलाबेला पहल गरेपनि स्थानीय निकायले वास्ता नगरेको भन्दै उनीहरू आज ३ घण्टाको पैदल दूरी हिँडेर गाउँपालिकाको कार्यालय गुटु पुगेका हुन् । करिब ८० भन्दा बढी घरधुरी रहेको रेक्चामा खानेपानीको समस्याले गर्दा नागरिकहरू गाउ छोडेर पलायन हुन थालेका छन् ।

गाउँमा भएको कुवामा पनि पानीको स्रोत सुक्न थालेपछि उनीहरूलाई पानीको जोहो गर्न समस्या हुन थालेको छ । गाउँपालिका पुगेका उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा रेक्चाका नागरिकलाई शुद्ध पिउने बानीको व्यवस्था गरिदिनको लागि ध्यानाकर्षण समेत गरेका छन् । पानी नभएकै कारण आधारभुत विद्यालयमा पनि समस्या हुने गरेको र पशु चौपायालाई तीन दिनमा एकपटक पानी खुवाउने गरेको स्थानीय बताउँछन् ।

खानेपानीको पर्याप्त व्यवस्थापन नहुँदा महिनावारीको समयमा समेत समस्या हुने गरेको छ । चुनावको समयमा विभिन्न राजनीतिक दलहरूले खानेपानीको व्यवस्थापन गर्छौं भन्दै भ्रम छर्ने गरेको भन्दै उनीहरूले राजनीतिक दलहरूप्रति आक्रोश समेत पोखेका छन् । स्थानीय सरकारले मठ मन्दिर लगायत पर्यटकीय क्षेत्रको संरक्षण गर्नको लागि लाखौं बजेट खर्च गर्ने तर नागरिकको पिउने पानीको व्यवस्थापन नगर्नु दुखद कुरा भएको स्थानीय किरण बिसीले बताएका छन् ।
