१६ जेठ सुर्खेत ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र पञ्चपुरीको दुलालथाईमा बन्ने बताएका छन् । ढिलो चाँडो प्रहरी तालिम केन्द्र पञ्चपुरीमै बन्छ शाहीले भने कुनै कारणले बन्न नसकेमा जनताको पक्षमा आफू उभिन तयार छु ।

नेपाली कांग्रेस पञ्चपुरी नगरपालिकाको तेस्रो नगर सम्मेलनको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस पञ्चपुरीले गरेको कार्य उदाहरणीय रहेको बताएका छन् । पार्टी भित्रका समस्याहरूलाई अन्त्य गर्न पार्टीमै छलफल चलाउनुपर्ने बताउँदै शाहीले नेपाली कांग्रेसले गरेका गतिविधिहरू सामाजिक सञ्जालमा सकारात्मक रुपमा प्रचार गर्न सबैलाई निर्देशन समेत दिएका छन् । शाहीले पञ्चपुरीको वडा नम्बर ८ मा रहेको कृष्णप्रसाद भट्टराई स्मृति भवनको समेत उद्घाटन गरेका छन् ।

सम्मेलनमा नेपाली कांग्रेसका नगर सभापति कृपाराम थापाले नगर कार्यसमितिले गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् । नगर कार्य समितिले सम्मेलनमा पाँच जना आमाहरुलाई सम्मान समेत गरेको छ भने सम्मेलनमा वडा नम्बर ८ को पार्टी कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने दीप महतरा, हरिकला महतारा लगायतको घरपरिवारलाई सम्मान समेत गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेस का कर्णाली प्रदेशका सह महामन्त्री उपेन्द्रबहादुर थापा, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य छविलाल सिग्देल, नेपाली कांग्रेस जाजरकोटका सभापति बेदराज सिंह, नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेल उपसभापति टोप बहादुर रावत, क्षेत्र नम्बर २ का सभापति इन्द्रबहादुर रावल लगायत प्रदेश क्षेत्र स्तरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । वडा नम्बर ८ का सभापति सुशील घिमिरेले सञ्चालन गरेको कार्यक्रम नगर सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।














