कोरोना भाइरस सङ्क्रमणकाे महामारीबाट विद्यार्थी र अभिभावकलाई सुरक्षित राख्न रुकुम पूर्वका शिक्षक एक भएर लागिपरेका छन् ।
जिल्लाभरका सबै शिक्षक एक दिन बराबरको तलब तथा भत्ता सङ्कलन गरेर आवश्यक स्वास्थ्य सामग्री खरिद गरी फिल्डमा नै खटिएको शिक्षक महासङ्घ रुकुम पूर्वका अध्यक्ष कलु खड्काले बताउनुभयो । जेठ २ गते नै निर्णय गरेर आ–आफ्नो क्षेत्रमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गर्दै जनचेतना फैलाउने काम गरिरहेको अध्यक्ष खड्काले जनाउनुभयो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि शिक्षक महासङ्घले निर्णय गरेरै सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले कोरोना कहरको जटिलता, बच्ने उपायलगायत सचेतनाका कुरासहित आ–आफ्नो विद्यालयका अभिभावक र विद्यार्थीलाई फोन तथा एसएमएस गर्ने कार्य निरन्तर भइरहेको समेत अध्यक्ष खड्काले बताउनुभयाे ।
महासङ्घले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि रेडियोमार्फत सूचना जारी गरिरहेको छ भने जिल्लाका विभिन्न ठाउँमा जनचेतनामूलक सन्देश, पर्चा, पम्पलेट तथा आवश्यक सामग्रीसहित शिक्षक परिचालित छन् ।
समाजको आशा र भरोसाको केन्द्र मानिने शिक्षकबाट जिल्लामा नव–प्रवर्द्धनात्मक काम भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । उहाँले सबै शिक्षक सङ्गठन एक भइ जिल्लामा कोरोना राेकथाम तथा नियन्त्रण अभियान सशक्त पारेको बताउनुभयाे ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर टोलटोलमा पुगेका शिक्षककाे प्रशंसा भइरहेकाे छ । उज्यालो