बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बुटवलमा विद्यार्थीहरूले आइतबार दबाब र्याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही र तिलोत्तमाकी अस्मिता खत्रीको न्यायको माग गरे ।
बुटवलमा रहेका सबै क्याम्पसका विद्यार्थीहरूले सामूहिक रुपमा दबाब र्याली निकालेका थिए । उनीहरूले बुटवल उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय र उच्च अदालत तुलसीपुरको बुटवल इजलासअघि प्रदर्शन गरे ।
प्रदर्शनको अगुवाइ गरेका विद्यार्थीहरूले बलात्कारविरुद्ध चाहियो कडा कानुन, महिला हिंसा अन्त्य गर, बलत्कारीलाई पक्राउ गर, बालिका र किशोरीको सुरक्षाको ग्यारेन्टी गर, बलात्कारविरुद्धको हदम्याद हटाऊलगायत नारा लगाएका थिए ।
विरोध प्रदर्शनको अगुवाइ गरेका विद्यार्थी प्रवेश थापाले बलात्कार र महिला हिंसाले ल्याएको भयावह अवस्था हटाउन विरोध प्रदर्शनमा उत्रिएको बताए ।
ekantipur.com