दोस्रो चरणमा फैलिएको कोराना महामारीका कारण गरिएको निशेधाज्ञाले बिकाश निर्माणका काममा प्रत्यक्ष असर परेको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौर बजारको सडक २ बर्ष अगाडि देखि कालोपत्रेको लागि काम सुरु गरिए पनि अहिले कोरोना महामारीको कारण रोकिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप गरेको तेस्रो चरणको निशेधाज्ञाले सडक निर्माणको काम प्रभावित भएको हो ।
करिब २ बर्ष अघि ठेक्का दिएको काममा प्रदेश सरकारले २४ लाख बजेट उपलब्ध गराएको र यस बर्ष सबै नगरपालिकाले ब्यहोर्ने गरि काम सुरु भएको हो । २ करोड ८० लाख को लागतमा बन्ने बाटो १८ मिटर चौडा हुने नगरपालिकाले जनाएको छ । सडकमा ग्राबेलका लागि थुपारेको बालुवा गिट्टीले सडक झन साघुरो बनाएको छ भने सडक आसपासका नागरिकहरु २ बर्षदेखि घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या सहदै आएका छन ।

हाम्रो पन्त जे.भिले निर्माणको जिम्मा लिएको कामको अहिले सडकको नाला निर्माण अन्तिम चरणमा छ भने ग्राबेल बिछ्याउने, माटो भर्ने तथा कल्भर्ट निर्माणको काम भैरहेको छ । तर निषेधाज्ञाले एक हप्तादेखि सडक निर्माणको काम ठप्प हुदा निर्माण ब्यवसायीले निर्माणका सवारीसाधन थन्क्याएर राखेका छन ।
असार मसान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्य लिएको कम्पनिको काम अहिले बन्द भएपछि समयमै सम्पन्न हुनेमा आशंका उव्जिएको छ । निर्माणको जिम्मा लिएका ठेकेदार खगेन्द्र रानाले कोरोना महामारीका कारण काम गर्न कठिनाइ भएको बताउनुभएको छ । गत आर्थिक बर्षको असारमा सकिने काम निशेषाज्ञाले असर पारेको र यस बर्ष पनि निशेषाज्ञाले समयमै सम्पन्न गर्न नसकिने उहाको भनाइ छ । महामारीमा जोखिम लिएर काम गर्न पनि सकिदैन र आबश्यक सामाग्री हरुपनि समयमै उपलब्ध नहुने भएको हुदा असार मसान्तसम्म कालोपत्रेको काम नसकिने उहाको भनाइ छ ।

निकै महत्वका साथ हेरिएको बाबियाचौर बजार कालोपत्रे गर्न स्थानीय निकाय, प्रहरी प्रशासन, निर्माण कम्पनिले समन्वय गरि छिटोभन्दा छिटो काम सम्पन्न गर्नुपर्ने नागरीक को भनाइ रहेको छ ।
