पञ्चपुरी नगरपालिकामा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । सुर्खेतको पश्चिम क्षेत्रमा रहेको यस नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै बाबियाचौरमा रहेको बिधुत सब स्टेसनको घरलाइ प्रयोग गर्ने गरीे आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बिरामीलाइ प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र बीरेन्द्रनगर लैजानको लागि २ ओटा एम्बुलेन्स तयारी अबस्थामा राखेको पनि जानकारी दिनुभएको छ । साथै थापाले कोरोना महामारी तिब्ररुपमा फैलिएको हुदा सम्पुर्ण नागरिकहरुलाइ लकडाउनको पुर्णरुपमा पालना गरि ब्यक्तिगत सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गर्नुभएको छ ।
नगरपालिकाले नगरपालिका भित्रका अत्यावश्यकबाहेक अन्य सेवा ब्यापार ब्यवसाय पुर्णरुपमा बन्द गरेको छ । नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि सहजरुपमा अस्पताल लैजान स्थानीय निजी पञ्चपुरी अस्पतालसँग एम्बुलेन्सको सहकार्य समेत गरेको छ ।
नगरपालिकाले आइसोलेशनमा रहने बिरामीको उपचारका लागि तत्काल २ जना चिकित्सक, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको व्यवस्था गरेको पञ्चपुरी नगर स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिनुभयो । अहिलेसम्म नगरपालिकाको आइसोलेसनमा कुनै पनि कोरोना सङ्क्रमित भर्ना भएका छैनन् । बिरामीको चाप बढेमा अक्सिजन सहित थप स्वास्थ्यकर्मीको ब्यबस्थापन गर्ने शाखाले जनाएको छ ।