राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत एचआइभीसँग सम्बन्धित लान्छना र भेदभाव सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आज सुर्खेतको पञ्चपुरीमा सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा पञ्चपुरी नगरपालिकाभित्र रहेका जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले पञ्चपुरी नगरपालिकामा एचआइभी संक्रमितहरूको संख्या धेरै रहेको र उनीहरु खुलेर आएको हुँदा उनीहरूका लागि औषधि उपचारको व्यवस्थापन गर्न थप सहज भएको बताउनुभएको छ । एचआइभी संक्रमितहरूले नियमित औषधि सेवन गरेमा रोकथाम गर्न सकिने भएको हुँदा यसको लागि संक्रमित सबै खुल्न आवश्यक रहेको बताउनुभएको छ ।
साथै भण्डारीले पञ्चपुरी नगरपालिकाले विभिन्न लक्षित वर्ग र एचआइभी संक्रमितहरूका लागि यसअघि पनि नियमित कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि उनीहरूको दैनिक जीवनयापन सहज बनाउनका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका गणेशभक्त गौतमले कार्यक्रमको लक्ष्य उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रम पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।
