सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको नागरिक एपको फुल भर्सन आउने भएको छ । आउँदो आइतबार एक विशेष कार्यक्रमबीच सरकारले नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो ।
आउँदो आइतबार सरकारले राष्ट्रि सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदैछ । त्यसै सन्दर्भमा नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।
‘आईसीटी डेको अवसरमा प्रधानमन्त्री ज्युबाट नागरिक एपको औपचारिक सुभारम्भ गर्ने कार्यक्रम छ,’ स्रोतले टेकपानासँग भन्यो । यस अघि गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बेटाभर्सन सार्वजनिक गरेका थिए ।
बेटा भर्सनमै एपबाटै स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सेवा सेवा रहेकोमा पछिल्लो समय पुलिस क्लियरेन्स रिपोर्ट समेत लिन सकिने बनाइएको छ । यसका साथै एपमा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण हेर्न सकिने सुविधा पनि छ ।
त्यसैगरी पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एपमा जोडिएको छ । नागरिकले हेलो सरकारमार्फत विभिन्न सार्वजनिक तथा सरकारी सेवाको विषयमा नागरिक एपमार्फत नै गुनासो टिपाउन सकिने सुविधा छ ।
नागरिक एपमा खाता खोल्न आफ्नै नामको मोबाइल नम्बर अनिवार्य गरिएको छ । सुरुमा नेपाल टेलिकम र एनसेलको नम्बरबाट मात्र नागरिक एपमा खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकमका नम्बर समेत नागरिक एपमा जोडिएका छन् ।
बेटा भर्सन सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले आफ्नो नागरिकता फेला नपरेको तथा त्रुटी रहेको भन्दै एपमा खाता खोल्न नपाएको गुनासो गरेका थिए । तर पछिल्लो समय गृह मन्त्रालयले नागरिकता सम्बन्धि समस्या समाधान गर्न छुट्टै सिस्टम विकास गरी सञ्चालनमा ल्याइसकेको छ ।
नागरिक एप प्रयोगकर्ताले नागरिकताको विवरण फेला नपरेको वा त्रुटी देखिएको अवस्थामा सँगै आउने विकल्पमार्फत त्यसको समाधानका लागि अनुरोध पठाउन सक्छन् । नागरिकताका साथै मतदाता परिचयपत्र वा राहदानीबाट समेत नागरिक एपमा खाता खोल्न सकिन्छ ।
नागरिक एप औपचारिक रुपमा सार्वजनिक भएसँगै थप विशेष सेवा तथा फिचर समेत उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपी कुन कुन सेवा तथा फिचर एपमा आउँदैछन् भन्ने विषयमा भने स्पष्ट जानकारी बाहिर आएको छैन । बेटा भर्सनमै रहेको एपको डाउनलोड एन्ड्रोइड र आईओएसमा गरी ५ लाख नाघिसकेको छ । techpana