१४ बैशाख, सुर्खेत ।
आइएनए सुर्खेतद्वारा सञ्चालन भएको पहुँच तथा समावेशीकरण परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा सुधार भएको छ। शनिबार पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा सञ्चालन भएको हाटबजारमा अपाङ्गता भएका व्यक्तिहरूले आफूले उत्पादन गरेर ल्याएका वस्तुहरू बिक्री गरेर राम्रो आम्दानी गरेका छन्। पहुँच तथा समावेशीकरण परियोजनाले पञ्चपुरीमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। शनिबार हाटबजारमा अपाङ्गता भएका व्यक्ति र उनका घरपरिवार १८ जनाले उत्पादित वस्तुहरू बिक्रीबाट करिब ३५ हजारको कारोबार गरेका छन् ।

हाटबजारको अनुगमनका क्रममा पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नगेन्द्रबहादुर शाहीले हाटबजार व्यवस्थापन गर्न लागिएको र अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि सामग्री बिक्रीमा सहज गराउने बताउनुभएको छ । साथै उहाँले हाटबजारमा अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेको सामग्री बिक्रीसँगै अपाङ्गता सम्बन्धी सन्देशमूलक सामग्री प्रसारणले थप सन्देश प्रवाह गरेको बताउनुभएको छ। हाटबजारमा तरकारी फलफुल ग्रिलका सामग्री मोबाइल मर्मत लगायतको व्यापार गरिएको छ । कार्यक्रममा परियोजनाका पञ्चपुरी टिमलिडर उदय हमालले प्रत्येक शनिबार हाटबजारमा सन्देशमूलक सामग्री प्रसारण गर्दै आएको र अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेको सामग्री बिक्रीका लागि राख्न थप सहजीकरण गरेको बताउनुभएको छ।











