मोहन्यालका तत्कालीन अध्यक्षसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर,

गैरकानुनी रुपमा नदी दोहन गरी राजस्व हिनामिना गरेको अभियोगमा कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावल (हाल निधन), कार्यवाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा, र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध ५४ लाख १८ हजार ५ सय ८० रुपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन अध्यक्ष रावलसहित जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलेमतोमा कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, वादे, साउडे र कान्द्रा खोला/नदीबाट ढुंगा/बालुवा अबैध रुपमा उत्खनन गरी सरकारी राजस्व हिनामिना गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोजनमा उल्लेख छ । नेकपा एमालेका तर्फबाट २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित रावलको २०७७ चैतमा उच्च रक्तचाप र मस्तिष्कघातका कारण उपवचारका क्रममा निधन भइसकेको छ । उनको निधनसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी बूढामगरले सम्हाल्दै आएकी छन् ।

अख्तियारका अनुसार वडा नम्बर १ का अध्यक्ष नवीन पुन मगर, २ का अध्यक्ष देवीदत्त उपाध्याय, ३ का अध्यक्ष नन्दराम गिरी, ४ का अध्यक्ष टेकबहादुर बोगटी, ५ का अध्यक्ष छविलाल हौजाली मगर, ६ का अध्यक्ष टिकाराम भण्डारी, ७ का अध्यक्ष खरप्रसाद अधिकारी, गाउँपालिकाका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईको मिलेमतोमा नदीजन्य पदार्थ उत्खननबापत ठेकेदारले तिर्नुपर्ने राजस्व मिनाहा गराई ५४ लाख १८ हजार ५ सय ६८ रुपैयाँ हानीनोक्सानी हुने गरी पालिका सरकारबाट निर्णय गराएको देखिन्छ ।

यसैगरी न्यु बडिमालिका निर्माण सेवा र त्यसका सञ्चालक मकरबहादुर शाहलगायतले उत्खनन अनुमति र सर्त अनुसारको पहिलो र तेस्रो किस्ता नै जम्मा नगरी सम्झौता गरेको, धरौटीबापतको रकम पनि फुकुवा गरेको, प्रमाणीत राजस्व रसिद बिनै उत्खनन तथा लेनदेनसम्बन्धी सेटिङ मिलाएको र पछि मिलेमतोमै राजस्व रकम पालिकाबाटै मिनाहा गरेको अनुसन्धानबाट खुलेको छ । अख्तियारले किस्ता रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर, गाउँपालिकाले पाउने रोयल्टी बापत ५६ लाख ३ सय ४८ रुपैया मागदाबीसहित बढिमालिका निर्माण सेवा र सञ्चालक शाह विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नदी दोहन र अवैध उत्खननको निर्णय हुँदा पालिका अध्यक्ष रावल थिए । उनको निधनपछि पनि पालिकाबाट पटक–पटक निर्णय गराएर सरकारी सम्पत्ति हिनामिना हुने गरी निर्णय भएको उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओझा विरुद्ध छुट्टै ५६ लाख ३ सय ४८ रुपैयाँ बिगो तथा कैद सजाय मागदाबी गरिएको छ ।

तत्कालीन अध्यक्ष रावलको निधन भइसकेका कारण उनको हकमा उनका अंशीयारको चलअचल सम्पत्तिबाट बिगो असुलको माग गरिएको छ भने बाकी आरोपित विरुद्ध बिगो, कैद र जरिवानाको माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...