२९ चैत, सुर्खेत ।

पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा अस्थायी ट्राफिक प्रहरी पोस्टको भवन उद्घाटन गरिएको छ। पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बीच भवनको उद्घाटन गरिएको हो। नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको भवन दुई कोठाको रहेको छ भवनको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले भवन निर्माण ले मात्रै सबै कुरा पूरा नहुने भन्दै यसको व्यवस्थापनका लागि आवश्यक सहयोग आवश्यक रहेको बताउनुभएको छ। साथै उहाँले बढ्दो बजारीकरणले दुर्घटना निम्त्याउने भएको हुँदा ट्राफिक प्रहरीले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख भाबेश रिमालले ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले गरेको सहयोग महत्त्वपूर्ण रहेको र सहयोगको पूर्ण प्रशंसा गर्दै धन्यवाद समेत दिनुभएको छ। साथै उहाँले आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर पञ्चपुरीको ट्राफिक व्यवस्थापन लाई थप व्यवस्थित गर्न कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । भवन निर्माणमा पहल गर्दै प्रहरी बरिष्ठ हवल्दार टिकाराम सिग्देलले बाबियाचाैर पश्चिमकाे केन्द्र भएको हुदा बढ्दाे बजारीकरण संगै ट्राफिक कार्यालयको व्यवस्थापन गर्न जरुरी रहेको हुँदा भवन निर्माण महत्त्वपूर्ण रहेको बताउनुभएको छ। साथै उहाँले आवश्यक कागजातहरू व्यवस्थापन गर्नको लागि कार्यालय अति आवश्यक भएको र आगामी दिनमा पनि भवन आवश्यक देखिएको हुँदा अहिले नै निर्माण गर्न विशेष पहल गरिएको बताउनुभएको छ। कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मी वडा अध्यक्ष नगेन्द्रबहादुर शाही लगायत सरोकारवालाहरूको उपस्थित रहेको थियो। कार्यक्रममा भवन निर्माण को जिम्मा पाएका जनक विष्टलाई सम्मान समेत गरिएको छ।