सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको डिलबहादुर कार्कीलाई नगरपालिकाले आज स्वागत गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत कार्कीलाई पञ्चपुरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोकिएको छ। नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कार्कीले नगरपालिकामा विकास निर्माण र प्रशासनिक क्षेत्र राम्रो बनाउनको लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । साथै उहाँले जनप्रतिनिधि र कर्मचारीहरूबीचको समधुर सम्बन्ध स्थापना गर्दै पञ्चपुरीको विकासका लागि अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
पञ्चपुरी नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख लालवीर भण्डारीले नगरपालिकामा प्रायजसो कर्मचारी फेरबदल भइराख्ने परिपाटीले नगरको विकासमा असर पर्ने भएको हुँदा लामो समयसम्म सेवा गर्ने गरी नगरपालिकामा काम गर्नको लागि नगरप्रमुखले आग्रह गर्नुभएको छ । साथै उहाँले नगरपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वयको भूमिका महत्वपूर्ण हुने र कानुनले वञ्चित गरेका कामबाहेक अन्य कुरामा नगरपालिकाले समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ ।