२७ चैत, अछाम ।

ग्यासको सिलिण्डर पड्किएर मंगलबार बेलुकी आगलागी भएको जयगढ बजारमा ७ करोड भन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७वटा घरपसल, सामग्री गरेर ७ करोड भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आगलागीमा ढुंगा, माटोका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएका छन् । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरु आगजनीमा परेर जलेको बताइएको छ । आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरणहरु संकलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । आधा रातिसम्म आगलागी नियन्त्रणमा केन्द्रित भएको र ठूलो क्षति भएकोले विवरण संकलनको काम भइरहेको बताइएको छ ।
स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट बेलुकी करिब साढे सात बजेटबाट भएको आगलागी पाँच घष्टापछि नियन्त्रणमा लिइएको थियो । बजारको साँघुरो सडक, नजिकमा पानीको श्रोत नहुनु र जिल्लामा एक मात्रै दमकल भएका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको बताइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको ठूलो प्रयासपछि लामो समयपछि आगलागी नियन्त्रणमा लिइएको थियो । dainikimedia