सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी दुई पलैटे सुर्खेतको ७३ औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम आज सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर २ को पलैटेमा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोलाले विद्यालयको प्रगति प्रतिवेदन तथा आगामी योजनाको बारेमा जानकारी गराउनुभएको छ ।
बास्तोलाले सूर्यप्रकाश माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढी भएको र त्यसअनुसार दरबन्दी कम भएको हुँदा शिक्षक व्यवस्थापन गरी दिन आग्रह समेत गरेका छन् । आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकसँग प्रधानाध्यापक कार्यक्रम समेत सञ्चालन गर्ने विद्यालयमा पठनपाठनको सम्बन्धी नियमित अनुगमन गर्ने मल्टिमिडिया प्रविधिको रुपमा विकास गर्ने र प्रत्येक शिक्षकहरुलाई एक शिक्षक एक ल्यापटपको व्यवस्थापनका लागि योजना बनाएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले पछिल्लो चरणमा नगरपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किँदै गएको हुँदा गुणस्तर वृद्धिका लागि अबको आर्थिक वर्षमा विभिन्न शैक्षिक गुणस्तरका कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।
प्राविधिक धार समेत सञ्चालन भएको विद्यालयले थप नयाँ व्यवस्थापनका कार्यक्रमहरू अघि ल्याउँदै सूर्यप्रकाशलाई देशकै नमुनाको रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
