सुर्खेत ।
ब्राह्मण समाज नेपाल अन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकामा आज शाखा विस्तार गरिएको छ। नगरपालिकामा भएका ब्राह्मणहरूको भेलाबाट १३ सदस्य शाखा गठन गरिएको हो । रामप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सो समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले समुदायमा हुने गरेका विभिन्न बालविवाहका कुरालाई पण्डितहरुले पनि रोक्नका लागि पहल गर्नुपर्ने बताउनुभएको छ। विवाह गर्ने उमेर २० वर्ष पुग्नुपर्ने र २० वर्ष नपुगेको खण्डमा पण्डितहरुले विवाह नगरिदिएमा बालविवाह रोक्नमा थप सहयोग हुने समेत उहाँले बताउनुभएको छ । साथै भण्डारीले बालविवाह गर्ने गराउने सहित विवाह मण्डपमा सहभागी पुरोहित समेतलाई उमेर नपुगी विवाह गरेमा कारबाही हुने भएको हुँदा त्यसतर्फ पनि सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।
साथै उहाँले नगरपालिकाले पञ्चपुरीको वडा नं ५ मा रहेको शिवधाम धार्मिक संस्थामा गुरुकुल विद्यालय समेत सञ्चालन गरेको हुँदा गुरुकुल विद्यालयमा विद्यार्थीलाई व्यवस्थापन गर्नको पण्डितहरूको पनि महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । गुरुकुल विद्यालय व्यवस्थित गराउनको लागि भण्डारीले सबैलाई आग्रह समेत गर्नुभएको छ। कार्यक्रममा सहभागी पण्डित ब्राह्मणहरूले कर्मकाण्डको विषयलाई एकरूपता ल्याउनको लागि साझा बुझाई र धारणा बनाउने समेत बताएका छन्। कार्यक्रममा ब्राह्मण समाज नेपाल सुर्खेतका अध्यक्ष तिलकराम चालिसे सहभागितामा सम्पन्न भएको हो।