सुर्खेतकाे पञ्चपुरी नगरपालिका स्तरीय युवा सञ्जालले नगरपालिकामा योजना तर्जुमा सम्बन्धित छलफल तथा परिचयात्मक कार्यक्रम गरेको छ। नगर नगरस्तरीय युवा सञ्जालले नगर उपप्रमुख मुक्ति रेग्मीसँग भेटघाट गरी आगामी योजना तर्जुमा कार्यक्रममा युवाहरूका माग समेत योजनामा समेट्नुपर्ने बताएको छ।
बस्ती तथा वडा स्तरबाट छनोट गरिने योजनामा युवा बालबालिका किशोर किशोरीहरूका योजनालाई पनि प्राथमिकता दिन उनीहरुले माग गरेका छन् । युवा सञ्जालका अध्यक्ष रमेश ढुङ्गानाको नेतृत्वमा भएको छलफल तथा भेटघाटमा भौतिक विकास सँगसँगै सामाजिक विकास र बौद्धिक विकास पनि महत्वपूर्ण हुने भएको हुँदा उनीहरुले सो विषयमा पनि कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
छलफल कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मीले युवाहरूले उठाएको विषय महत्त्वपूर्ण भएको र आगामी नीति तथा कार्यक्रम र बस्ती स्तरका योजना छनोट गर्दा सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले आगामी योजना तथा नीति कार्यक्रममा युवाहरूका लागि सीपमूलक तथा आयमूलक कार्यक्रम समेटिने बताउनुभएको छ । छलफल कार्यक्रममा युएसएआइडी, एआरएच परियोजनाका प्रतिनिधि निकिता पाण्डे कृष्ण बिक लगायतको सहभागिता रहेको थियो।