६ चैत, सुर्खेत
कर्णाली क्षेत्रको कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको कर्णाली सांस्कृतिक समाज पञ्चपुरीको आज तेस्रो वार्षिक उत्सव भव्य रूपमा उद्घाटन गरिएको छ । कार्यक्रमको पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भण्डारीले कर्णाली क्षेत्रको मौलिक पहिचान, भाषा, भेषभूषा तथा लोकसंस्कृतिको संरक्षण र प्रचारप्रसारमा समाजले खेलेको म भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । भण्डारीले कर्णालीका सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ ।


कार्यक्रममा देउडा, हुड्के, पञ्चेबाजा, पुतला, होरी तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । समाजका अध्यक्ष रणबहादुर भण्डारीले उत्सवलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा भोली देउडा खेल प्रस्तुत हुने आयोजकले जनाएको छ ।












