उद्यम गरौँ आत्मनिर्भर बनाैं भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत अचार तथा दालमोठ उत्पादन शिप विकास तालिम सुर्खेतको बराहतालमा सम्पन्न भएको छ। फागुन २७ गतेदेखि सञ्चालन भएको तालिम बराहताल गाउँपालिका वडा नम्बर १ को श्रीचौरमा सम्पन्न भएको हो । तालिमका सहभागी महिलाहरूले दालमोठ उद्योग कम लगानीमा राम्रो हुने भएको हुँदा यो प्रभावकारी हुने समेत जनाएका छन् ।
बराहताल गाउँपालिकाको आयोजनामा भएको तालिममा वडा नम्बर १ अन्तर्गतका विभिन्न महिला समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

तालिममा सिकेको सिपलाई व्यवहारमा लागू गरेपछि नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि आवश्यक थप सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । साथै भण्डारीले गाउँपालिकाभित्रका रहेका महिलाहरूका लागि सीप विकास तालिमको कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा पनि विभिन्न वडाहरूमा तालिम सञ्चालन गरिने समेत बताउनुभएको छ।











