३ चैत सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिकाले वडास्तरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । महिलाहरूमा देखिने पाठेघरको समस्या र सर्वसाधारणको लागि आँखा जाँच शिविर सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ४ मा शिविर सम्पन्न भएको छ । वडा नं ३ मा भएको निःशुल्क चेकजाँच शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँचमा ५० जनाले सेवा लिएका छन् भने ३ जनाको अपरेसन गर्नुपर्ने देखिएको छ । त्यसैगरी आँखा शिविरमा ७९ जनाले सेवा लिएका छन् भने अप्रेसन गर्नुपर्ने बिरामीको सङ्ख्या ८ जना रहेको छ । वडा नम्बर ४ को तरङ्गामा भएको शिविरमा महिलाहरूको पाठेघरको क्यान्सर जाँच सम्बन्धी १०६ जनाले सेवा लिएका छन् भने शंकास्पद पाठेघरको क्यान्सर सम्बन्धी ५ जना भेटिएका छन् । त्यसैगरी पाठेघर सम्बन्धी समस्या भएर रेफर गरिएका ७ जना रहेका छन् । आँखा जाँच शिविरमा १७७ जनाले सेवा लिएका छन् भने अप्रेसन गर्नुपर्ने ३८ जना रहेका छन् ।
शिविरमा सहभागी गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले नागरिकको आधारभूत अधिकार स्वस्थ रहनुपर्ने भएको हुँदा स्वास्थ्य शिविर यसअघिदेखि सञ्चालन गर्दै आएको बताउनुभएको छ । वडा नम्बर ३ र ४ बाट सुरुवात गरिएको शिविर अन्य वडाहरुमा पनि क्रमश सञ्चालन गर्ने उहाँको भनाइ रहेको छ । शिविरमा शंकास्पद र रेफर गरिएका बिरामीहरुलाई निःशुल्क उपचार गरिने अध्यक्ष भण्डारीले बताउनुभएको छ । शिविरमा सेवा लिएका सहभागीहरूले वडा र टोल स्तरमै गएर स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन पाउँदा खुसी महसुस भएको बताएका छन् ।
