पञ्चपुरीमा पहुँच तथा समावेशीकरण परियोजनाले गरेको कामले नागरिक खुसी

183 पटक हेरिएको

२६ फागुन सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा आइएनएफ सुर्खेतद्वारा सञ्चालित पहुँच तथा समावेशीकरण परियोजनाले गरेका गतिविधिहरूको अनुगमन गरिएको छ । पञ्चपुरीको वडा नम्बर ६, २ र ३ मा गरिएका कामहरूको अवलोकन गरिएको हो । परियोजनाले पञ्चपुरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको जिविकोपार्जन, सशक्तिकरण लगायत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

पञ्चपुरी नगरपालिकाको जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखहरूको अनुगमन टोलीले अपाङ्गता भएका व्यक्तिहरूको निर्माणाधीन कार्यालय, अपाङ्ग मैत्री शौचालय, अपाङ्गता भएका व्यक्तिहरूले गरेको सिलाई कटाई, ग्रिल उद्योग लगायतको व्यवसायको अनुगमन गरेको छ । त्यसैगरी पञ्चपुरी नगरपालिका वडा नम्बर ३ मा अपाङ्गता भएका व्यक्ति देबिसरा कँवरको पञ्चपुरी नगरपालिका, आइएनएफ सुर्खेत र स्वयं व्यक्तिको लगानीमा निर्मित २ कोठे भवन समेत हस्तान्तरण गरिएको छ । पञ्चपुरी नगरपालिकाको १ लाख ५० हजार आइएनएफ सुर्खेतको २ लाख २५ हजार र देबिसरा कँवरको ७० हजार त्रिपक्षिय लगानीमा गरि जम्मा ४ लाख ४५ हजारकाे लगानीमा भवन निर्माण गरिएको हो ।

अनुगमनका क्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले आइएनएफ सुर्खेतले पञ्चपुरी नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको लागि गरेको काम अतुलनीय र प्रशंसनीय रहेको बताउनुभएको छ । त्यसैगरी नगर प्रमुख लालवीर भण्डारीले आइएनएफ सुर्खेतले साझेदारी मार्फत नगरपालिकामा गरेको सहयोगले अपाङ्गता भएका व्यक्तिको जीवनमा धेरै परिवर्तन आएको देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ । साथै उहाँले कृत्रिम अङ्ग निर्माणका लागि आइएनएफ सुर्खेतलाइ मेसिन खरिदमा नगरपालिकाले यस अघि गरेको सहयोगले कर्णाली प्रदेशकै अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिएको देख्दा आफूलाई गर्व महसुस भएको समेत बताउनुभएको छ ।

त्यसैगरी आइएनएफ सुर्खेतका कार्यक्रम संयोजक ललित बहादुर सारुले नगरपालिकाले परियोजना सफल बनाउनको लागि गरेको सहयोग अविस्मरणीय रहेको र यसलाई निरन्तरता दिनको लागि संस्थागत तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । नवनिर्मित भवनको साँचो बुझ्दै देबिसरा कुँवरले वर्षौंदेखि दुःख भोग्दै आएको कुरालाई स्मरण गर्दै अब आफ्नो लागि सुखको दिन फर्किएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । आइएनएफ सुर्खेतले सीप सिकाउनुका साथै बस्नको लागि भवन निर्माण गरिदिएको हुँदा अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य नागरिक सरह समुदायमा काम गरेर जीविकोपार्जन गर्न सक्छन् भन्ने कुराको आत्मविश्वास बढेको बताउनुभएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नम्बर २ अध्यक्ष यामबहादुर बिसी र वडा नम्बर ३ का अध्यक्ष बलबहादुर रोकाय लगाएत जनप्रतिनिधिहरूले संस्था र नगरपालिकाले समुदायस्तरमा गरेको सहयोगप्रति धन्यवाद समेत दिनुभएको छ । नगरपालिकाले आइएनएफ सुर्खेतलाई राम्रो कामको प्रशंसा गर्दै सम्मानपत्र समेत प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...