चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ ।

आयोगले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि शुरू भएको मतदाता शिक्षा कार्यक्रम देशभरका ७ सय ५३ पालिकाका सबै वडामा हिजो सकिएको हो ।
हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आम नागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो ।
मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को चुनावदेखि जिम्मा दिन थालिएको थियो । आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ ।
यसैबीच आजराति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । यो समयमा चुनाब प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।












