११ फागुन सुर्खेत ।
स्वतन्त्र विद्यार्थी युनियन विद्यापुरको आयोजना तथा विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ सुर्खेतको समन्वयमा फुट्सल प्रतियोगिता सुरु भएको छ । पञ्चपुरीमा रहेका माध्यमिक विद्यालयहरुबीच भएको फुट्सल प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगरपालिका प्रमुख लालवीर भण्डारीले स्वबियुले गरेको काम प्रशंसायोग्य रहेको र यसलाई निरन्तरता दिनको लागि क्याम्पस प्रशासन लगायत सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । प्रत्येक वर्ष निरन्तर सञ्चालन गर्दै आएको खेलको पूर्ण सफलताको शुभकामना दिँदै भण्डारीले खेलकुद क्षेत्रले मानव स्वास्थ्यमा फाइदा पुर्याउनुका साथै आपसी सद्भाव बढाउने समेत बताउनुभएको छ । कार्यक्रममा राजनीतिक दल शिक्षक अभिभावक लगायतको सहभागिता रहेको थियो ।
आजदेखि सुरु भएको प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


आज भएको पहिलो खेल विद्यापुर जनता बहुमुखी क्याम्पस र जनता माध्यमिक विद्यालय बि बीचको खेलमा क्याम्पसले जित हासिल गरेको छ । त्यसैगरी दोस्रो खेलमा जीवन ज्योति माध्यमिक विद्यालय चौकुनी ६ गुटु र विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौर बीचको खेलमा मावि बाबियाचौरले जित निकालेको छ । तेस्रो खेल विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ९ सुन्दरपुर र जनसिर्जना माध्यमिक विद्यालय पञ्चपुरी ११ तातापानी बीचको खेलमा माबि तातापानीले जित निकालेको छ ।

त्यस्तै आजको अन्तिम खेलमा सूर्य प्रकाश माध्यमिक विद्यालय पञ्चपुरी २ पलैटे र जनता माध्यमिक विद्यालय ए बीचको खेलमा सूर्यप्रकाश माध्यमिक विद्यालय विजेता बनेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार र द्वितीय हुनेलाई नगद ५ हजार पुरस्कार पाउने भएका छन । स्वतन्त्र विद्यार्थी युनियन विद्यापुरका सचिव जनक बिष्टले सञ्चालन गरेको कार्यक्रम स्वबियु सभापति चेतन नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।
