४ फागुन, सुर्खेत ।
गोल्डेन फ्युचर एकेडेमी पञ्चपुरी ५ बाबियाचौर सुर्खेतले आफ्ना विद्यालयका अभिभावकसँग एक दिने उत्प्रेरणा कार्यक्रम गरेको छ । अभिभावक विद्यार्थी र विद्यालयको त्रिपक्षीय एकता कायम गर्न र विद्यार्थीहरूलाई संस्कार र संस्कृतिसँग जोड्न कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रशिक्षक हरि ओलीले अभिभावक र बालबालिकाको सम्बन्धका बारेमा जानकारी दिनुभएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीले कार्यक्रमले विद्यालयका अभिभावक र विद्यार्थीहरू लाभान्वित भएको बताउँदै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभएको छ । त्यसैगरी कार्यक्रममा शिक्षा शाखा प्रमुख तुलसी वनले विद्यालयले गर्ने नविनतम कार्यक्रमहरू अनुकरणीय रहेको र भविष्यमा अझै राम्रो गर्नका लागि शुभकामना समेत दिनुभएको छ ।

विद्यालयका प्रिन्सिपल ताराप्रकाश कँडेलले विद्यालयले किताबको ज्ञान मात्र नभई विद्यार्थीहरूलाई संस्कार संस्कृति र अतिरिक्त क्रियाकलापहरूमा जोड दिएको बताउनुभएको छ । कार्यक्रममा विद्यार्थीका अभिभावक करिब २०० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई प्रार्थना व्यवस्थापनका लागि अभ्यास समेत गराइएको छ ।
