गगन खडका । सुर्खेत
स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन स्थानीयकरण सम्बन्धी २ दिने तालिम चौकुने गाउँपालिकामा सम्पन्न भएको छ ।
फागुन २ गते सुरु भएर फागुन ३ गतेसम्म तालिम सञ्चालन भएको हो । युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना अन्तर्गत तालिम चौकुने गाउँपालिकामा सञ्चालन गरिएको हो ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारका नीतिहरु, स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो । सहभागीहरुले सिकाई सँगै गाउँपालिकाले विपद् जोखिम व्यवस्थापनका लागि गरेका कार्यहरुको समिक्षा गदै गाउँपालिका स्तरीय योजना पुन निमार्ण गरेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै चौकुने गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोलाले गाउँपालिका स्तरमा स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र विपद्को बेला प्रयोग गरिएको कुरा बताउनु भयो । आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका लागि आवश्यक सामाग्रीकोहरु पालिकाले तयारी अबस्थामा राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।