निर्वाचन आयोगले आज आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको जानकारी दिएको हो ।
चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झन्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो । मतदान गर्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था भए पनि आयोगले १६ वर्ष पुगेर नागरिकता बनाएका सबैको नामावली सङ्कलन गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आयोगले चुनावसँग सम्बन्धित कामहरू अन्तिम मतदाता नामावली, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने र निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने काम भइरहेको जानकारी दिनुभयो । त्यस्तै चुनाव व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।