गगन खडका, सुर्खेत ।
स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन स्थानीयकरण सम्बन्धी २ दिने तालिम पञ्चपुरी नगरपालिकामा सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना अन्तर्गत तालिम पञ्चपुरी नगरपालिकामा सञ्चालन गरिएको हो ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारका नीतिहरु, स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको हो । सहभागीहरुले सिकाई सँगै नगरपालिकाको अघिल्लो विपद् जोव्यवस्थापनका लागि कार्य पालिका स्तरीय योजना समेत तयार पारेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका उप प्रमुख मुक्ति देवि रेग्मीले पालिका स्तरमा स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र विपद्को बेला प्रयोग गरिएको कुरा बताउनु भयो । विपद्को बेला सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई धन्यबाद पनि व्यक्त गर्नु भयो । साथै उक्त तालिम कार्यक्रमबाट पञ्चपुरी नगरपालिकाले आफ्नो क्षेत्र भित्र विपद् बाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो समुदायको अमुल्य जन जीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणा पत्र समेत जारी गरेको छ । साथै नगरपालिकाले प्रतिवद्धाता गरेको १० बुदे पूर्ण रुपमा लागु गर्ने प्रतिवद्धाता जाहेर गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सुर्खेतका अधिकृत पदमलाल लामिछाने र विपद्का क्षेत्रमा कार्यरत श्रीलाल पोखरेलले सहजिकरण गर्नु भएको कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी उपप्रमुख मुक्तिदेवि रेग्मी लगायत सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य ,ईलाका प्रशासन कार्यलय ,ईलाका प्रहरी कार्यलय ,नगरपालिका मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, रेडक्रस सोसाइटीका प्रतिनिधि, समितिका प्रतिनिधिहरु लगायत २५ जना सहभागीहरुको सहभागिता रहेको थियो ।